काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरण सार्वजनिक गर्ने पत्रकारलाई समेत कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

आइतबार आईजीपीको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानको क्रममा रहेका मुद्दासँग सम्बन्धित गोप्य सूचना तथा विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना अनधिकृत रूपमा सार्वजनिक हुँदा शंकित व्यक्तिको वैयक्तिक गोपनीयता प्रभावित हुनुका साथै अनुसन्धानको निष्पक्षता, संवेदनशीलता र प्रहरी संगठनको गरिमामा समेत असर परेको छ।

विज्ञप्तिमा अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन र प्रहरी आचरणविपरीतको गम्भीर कसुर भएको उल्लेख गरिएको छ।

प्रहरी नियमावली, २०७१ को नियम ७१ तथा नियम १०९ र ११३ एवं मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ अनुसार गोप्य सूचना अनधिकृत रूपमा सार्वजनिक गर्ने र त्यस्तो कार्यमा दुरुत्साहन गर्ने व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही हुन सक्ने सचिवालयले जनाएको छ।

त्यस्तै, अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना सञ्चारमाध्यमलाई उपलब्ध नगराउन प्रहरी कर्मचारीलाई समेत सचेत गराइएको छ। स्वीकृतिबिना सूचना चुहावट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिने चेतावनी दिँदै प्रहरीले त्यस्ता सूचना प्रकाशित गर्ने सञ्चारकर्मीलाई पनि कानुनी दायरामा ल्याउन सकिने जनाएको छ।

प्रकाशित मिति: १३ मंसिर २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com