काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह ले सीमा विवादबारे दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको बताएका हुन्। उनले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा संसद्को मञ्चबाट गरिएको अभिव्यक्तिले नेपालको स्थापित अडान कमजोर बन्न सक्ने उल्लेख गरेका छन्।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले भारतले नेपालको भूमि मिचिरहेको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको विषय आफूले हालसालै थाहा पाएको बताएका थिए। उक्त भनाइप्रति प्रतिक्रिया दिँदै घिसिङले नेपालको सीमा सम्बन्धी दाबी ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणमा आधारित रहेको स्मरण गराएका छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्न सक्ने, साथै नेपालले उठाउँदै आएको वैध दाबीलाई समेत असर पार्न सक्ने बताएका छन्। राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौमिकतासँग जोडिएका विषयमा सरकारका अभिव्यक्ति स्पष्ट, जिम्मेवार र प्रमाणमा आधारित हुनुपर्ने उनको भनाइ छ।
घिसिङले प्रधानमन्त्रीसँग आफ्नो अभिव्यक्तिको आधार, तथ्य र सन्दर्भ सार्वजनिक गर्दै देश र जनतासमक्ष स्पष्ट धारणा राख्न माग गरेका छन्। साथै नेपाल–भारत सीमा समस्याको समाधान भावनात्मक आधारमा नभई ऐतिहासिक तथ्य, प्रमाण र विज्ञहरूको अध्ययनका आधारमा हुनुपर्ने उनको धारणा छ।
राष्ट्रिय हितसँग जोडिएका विषयमा अस्पष्टता होइन, दृढता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्दै उनले सीमा सम्बन्धी विषय सम्पूर्ण राष्ट्रको साझा चासोको विषय भएकाले यसबारे गम्भीर समीक्षा र स्पष्टीकरण आवश्यक रहेको बताएका छन्।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया