काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङ माथि प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी थुनुवामाथि धम्की र मानसिक दबाब दिएको गम्भीर आरोप लागेको छ।
‘राष्ट्रिय जेनजी नागरिक अभियान’ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार, लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको विषय र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा पक्राउ परेका अभियन्ताहरूमाथि उक्त घटना भएको दाबी गरिएको हो।

प्रदर्शनरत जेनजीहरु भारतीय दूतावास (लैनचौर) नजिक विरोध कार्यक्रम गर्न पुगेका बेला प्रहरीले बल प्रयोग गरी अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको थियो।
विज्ञप्तिअनुसार करिब एक घण्टा हिरासतमा राखेपछि दलबलसहित थुनुवा कक्षमा प्रवेश गरेका गुरुङले सरकारविरुद्ध नबोल्न चेतावनी दिँदै “यो अन्तिम मौका हो, अब प्रहरी र सरकारले छोड्दैन”, “सरकारविरुद्ध बोल्न बन्द गर्नुस्” जस्ता अभिव्यक्ति दिएर मानसिक दबाब सिर्जना गरेको जेनजीहरुले जनाएका छन्।

advertisement

“उहाँले तपाईंहरू कोबाट परिचालित हुनुहुन्छ भन्दै घुमाउरो धम्की दिनुभयो,” विज्ञप्तिमा उल्लेख छ।

अभियानले यो व्यवहार कानुनी शासन, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
त्यसैगरी, २४ घण्टासम्म हिरासतमा राख्दा आधारभूत मानव अधिकारअनुसार पर्याप्त खाना र पिउने पानी उपलब्ध नगराइएको भन्दै गम्भीर आपत्ति पनि जनाइएको छ।
यता, प्रहरी प्रशासनमाथि राजनीतिक प्रभाव परेको आशंका बढेको दाबी गर्दै अभियानले स्वतन्त्र छानबिनको माग गरेको छ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com