काठमाडौं। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङ शनिबार बालाजु प्रहरी परिसर पुगेर हत्या गरिएकी नेपाली सेनाकी जवान ईश्वरी भुजेल का परिवारजनसँग भेटघाट गरेका छन्।
गोरखा निवासी भुजेलको गएराति ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापा मगरले हत्या गरेको आरोप लागेपछि गुरुङले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
उनले घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडा कारबाही गर्न तथा सम्पूर्ण घटनाको निष्पक्ष, तथ्यपरक र गहिरो अनुसन्धान गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।
बालाजु प्रहरी परिसरमा पुगेर गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरी घटनाबारे जानकारी लिएका थिए।
उनले पीडित परिवारलाई न्याय दिलाउन राज्यका सम्बन्धित निकायले कुनै पनि प्रकारको लापरबाही गर्न नहुने बताए।
गुरुङले हत्या जस्तो जघन्य अपराधमा संलग्न जोसुकै भए पनि कानुनको कठघरामा उभ्याउनुपर्ने उल्लेख गर्दै सत्यतथ्य बाहिर ल्याई दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
मृतक ईश्वरी भुजेल गोरखाकी बासिन्दा हुन् भने उनी पूर्व गृहमन्त्री गुरुङकै निर्वाचन क्षेत्रकी नागरिक समेत रहेको बताइएको छ।
घटनापछि स्थानीय तथा सर्वसाधारणले समेत दोषीलाई कडा सजायको माग गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया