काठमाडौं। खाडी क्षेत्र मा सुरक्षा अवस्था पुनः तनावपूर्ण बनेको छ।
इरानले बहराइन र कुवेततर्फ क्षेप्यास्त्र प्रहार गरेको दाबी सार्वजनिक भएपछि मध्यपूर्वको सुरक्षा परिस्थिति थप जटिल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी सैन्य अधिकारीहरूका अनुसार होर्मुज जलसन्धि आसपास रहेका अमेरिकी हित तथा सैन्य संरचनालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो।
प्रहार गरिएका अधिकांश क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको दाबी गरिएको छ भने एउटा क्षेप्यास्त्र लक्ष्यमा नपुग्दै खसेको बताइएको छ।
आक्रमणको मुख्य लक्ष्य बहराइनस्थित अमेरिकी नौसैनिक पाँचौँ फ्लीटको मुख्यालय रहेको बताइएको छ।
घटनापछि बहराइनले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै कडा आपत्ति जनाएको छ।
कुवेतले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थायित्व र शान्तिमा नकारात्मक असर पार्ने जनाएको छ।
कुवेती अधिकारीहरूले तनाव बढाउने गतिविधिबाट सबै पक्ष संयमित हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
आक्रमणपछि बहराइनको राजधानी मनामा तथा कुवेतका केही क्षेत्रमा विस्फोटका आवाज सुनिएको स्थानीय स्रोतहरूले बताएका छन्।
घटनाले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना गरेको जनाइएको छ।
विश्लेषकहरूका अनुसार अमेरिका र इरानबीच पछिल्लो समय बढ्दै गएको प्रत्यक्ष तथा अप्रत्यक्ष टकरावका बीच भएको यो घटनाले मध्यपूर्वको सुरक्षा चुनौतीलाई थप गम्भीर बनाएको छ।
क्षेत्रीय युद्धको जोखिम बढ्न सक्ने चिन्तासमेत व्यक्त गरिएको छ।
अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र विवादको समाधान कूटनीतिक माध्यमबाट खोज्न आग्रह गरिरहेको छ।
खाडी क्षेत्रमा विकसित पछिल्लो घटनाक्रमलाई विश्वका प्रमुख शक्तिहरूले नजिकबाट निगरानी गरिरहेका छन्।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया