काठमाडौं । साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीका सैन्य गतिविधि नियन्त्रण गर्न इरानलाई आग्रह गरेको दाबी गरिएको छ ।

तीन इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार लाल सागर र बाब अल–मन्देब क्षेत्रमा हुथी गतिविधि बढेपछि साउदी अरबले चीनसँग सहयोग मागेको थियो । हुथी गतिविधिले साउदीको तेल निर्यात तथा लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय समुद्री यातायात जोखिममा परेको साउदीको चिन्ता छ ।

चीनले इरानलाई आफ्नो प्रभाव प्रयोग गरी लाल सागर र ऊर्जा आपूर्ति मार्गमा तनाव थप फैलिन नदिन आग्रह गरेको स्रोतहरूको दाबी छ । तर चीनले सार्वजनिक रूपमा भने क्षेत्रीय तनाव घटाउन, संवाद अघि बढाउन र समुद्री मार्गमा सुरक्षित आवागमन सुनिश्चित गर्न आह्वान गर्दै आएको छ ।

चीनको आग्रहमा इरानले भने क्षेत्रीय स्थिरताका लागि पहिले इरानमाथि जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको स्रोतहरूले बताएका छन् । चीनले हुथी गतिविधि नियन्त्रण नगरे आर्थिक दबाब वा अन्य कारबाहीको चेतावनी भने नदिएको उनीहरूको भनाइ छ ।

इरान चीनका लागि प्रमुख तेल आपूर्तिकर्तामध्ये एक भएकाले होर्मुज र लाल सागर दुवै क्षेत्रमा बढ्दो तनावले चीनको ऊर्जा तथा व्यापारिक हितमा असर पर्न सक्ने विश्लेषण गरिएको छ । सन् २०२३ मा इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गराउन चीनले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यद्यपि इरानमाथि चीनको प्रभावको सीमा र हुथीमाथि तेहरानको वास्तविक नियन्त्रणबारे स्पष्टता छैन । चीनको आग्रहअनुसार इरानले हुथी गतिविधिमा कस्तो कदम चाल्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com