काठमाडौ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनलसँगको साझेदारीले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने बताएका छन्।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित साझेदारी हस्ताक्षर कार्यक्रममा बोल्दै चौधरीले उक्त सहकार्यलाई नेपालको पर्यटन विकास र आर्थिक समृद्धिका लागि महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरे। उनले यो साझेदारी केवल व्यावसायिक सम्झौता मात्र नभई नेपालको पर्यटन क्षमतामाथि अन्तर्राष्ट्रिय समुदायले देखाएको विश्वासको प्रतीक भएको बताए।

advertisement

आतिथ्य क्षेत्रमा आफ्नो करिब तीन दशक लामो अनुभव स्मरण गर्दै चौधरीले सन् १९९८ मा नेपालमा होटल व्यवसाय विस्तार गर्ने प्रयास विभिन्न कारणले सफल हुन नसकेको उल्लेख गरे। तर दुई वर्षअघि सिंगापुरमा म्यारियट नेतृत्वसँग भएको भेटवार्तापछि दीर्घकालीन सहकार्यको आधार तयार भएको उनको भनाइ थियो।

विश्वभर करिब ९ हजार ९ सयभन्दा बढी होटल र १७ लाखभन्दा बढी कोठाको सञ्जाल रहेको म्यारियटसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाली पर्यटन बजारका लागि समेत महत्वपूर्ण अवसर भएको चौधरीले बताए। उनले नेपालको वर्तमान राजनीतिक नेतृत्व र नयाँ पुस्ताका सांसदहरूप्रति आशा व्यक्त गर्दै विकास र समृद्धिको यात्रामा निजी क्षेत्रको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।

यो पनि

नेपालमा रिट्ज-कार्लटन र वेस्टिन होटल सञ्चालन हुने, म्यारियट–सीजीबीच ऐतिहासिक सम्झौता

चौधरीका अनुसार नेपालमा म्यारियटका अधिकांश प्रमुख होटल ब्रान्ड भित्र्याउने लक्ष्यमा उल्लेखनीय प्रगति भइसकेको छ। साथै भारतमा पनि म्यारियटसँगको सहकार्य विस्तार गर्दै ५०० होटल सञ्चालन गर्ने दीर्घकालीन योजनामा काम भइरहेको उनले जानकारी दिए। सो योजनाअन्तर्गत नियमित रूपमा नयाँ होटल थप्ने लक्ष्य राखिएको छ।

नेपाल सरकारले सन् २०२७ लाई स्वास्थ्य तथा आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला म्यारियटसँगको सहकार्यले पर्यटन पूर्वाधार, सेवा गुणस्तर तथा समग्र पर्यटन प्रणालीलाई थप सुदृढ बनाउने विश्वास चौधरीले व्यक्त गरे।

यसैबीच, सिजी कर्प ग्लोबल र म्यारियट इन्टरनेसनलबीच नेपाल र भारतमा तीन नयाँ सुविधा सम्पन्न होटल सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ सञ्चालनमा ल्याइनेछ। यी परियोजनाले नेपाल–भारत पर्यटन तथा आतिथ्य उद्योगमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com