काठमाडाैं । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते छन्।
सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गए राति करिब ११ः०० बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको टिप्परमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका सूचना अधिकारी चन्द्र खड्काले बताए।
दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगर लगिएकोमा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन्।
प्रहरीका अनुसार टिप्पर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई इलाका प्रहरी कार्यलय पकलीले नियन्त्रणमा लिएको छ।
तीन जना सवार रहेको मोटरसाइकल चालकको लापरबाही तथा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ। रासस
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया