काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफूविरुद्ध सामाजिक सञ्जालमा बढ्दो आलोचना र गालीगलौजप्रति चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार उनी जनताको हित, सुशासन र राष्ट्रहितमा निरन्तर काम गरिरहँदा पनि निरन्तर आलोचना र अपमानको सामना गर्नुपरेको छ। जनताको पक्षमा उभिँदा किन सधैं एक्लो बन्नुपर्ने अवस्था आउँछ भन्ने प्रश्न उनले उठाएका छन्।
हर्क साम्पाङले आफूले जंगलमा लागेको डढेलो निभाउने, श्रमदान तथा सामाजिक काम गर्ने जस्ता गतिविधि गर्दा पनि प्रशंसा पाउनुको सट्टा उल्टै सामाजिक सञ्जालमा गाली आउने गरेको बताएका छन्।
उनले सीमा र राष्ट्रिय मुद्दामा आवाज उठाउँदा पनि नकारात्मक प्रतिक्रिया आउने गरेको उल्लेख गर्दै यस्तो अवस्था अन्यायपूर्ण भएको जस्तो महसुस भएको बताएका छन्।
त्यसका बाबजुद पनि उनले अन्तिम साससम्म देश र जनताको हितका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाउँदै आफ्नो अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन्।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया