काठमाडाैं । हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको ढुङ्गाले लागेर एक किशोरीको मृत्यु भएको छ।
सर्केगार्ड गाउँपालिका–४ गैरीसाँयाकी १५ वर्षीया पवित्रा साउद आज बिहान गाईगोरु चराउन जङ्गल गएकी थिइन्। बिहान करिब १०ः३० बजे करिडोरको माथिल्लो भागबाट अचानक खसेको ढुङ्गा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए।
घटनाको जानकारी बिहान ११ः५० बजे प्रहरी चौकी सर्केगाडमा पुगेपछि प्रहरी हबल्दार गोबर्द्धन परियारको नेतृत्वमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो। थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक जङ्गबहादुर सिंहको नेतृत्वमा अर्को प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोर आसपासका भिरालो क्षेत्रमा बर्सेनि ढुङ्गा खस्ने जोखिम रहँदै आएको छ। यस घटनाले पुनः सडक माथिका जोखिमयुक्त भिरहरूको व्यवस्थापन, नियमित अनुगमन तथा यात्रु र स्थानीय बासिन्दाको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। स्थानीयले यस्ता दुर्घटना दोहोरिन नदिन सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।
- रासस
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया