विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी फुटिसकेको बताएका छन् । एकताको ब्यानरमा विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्षको भेलामा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
आइतबार विराटनगरमा संस्थापन इतर समूहद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको ऐतिहासिक भूमिका स्मरण गराउँदै पार्टीभित्र पुनः एकता र सहकार्यको वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
‘वि.सं. २०४८ पछि नेपाली कांग्रेसले मुलुकको राजनीतिक परिवर्तन र लोकतान्त्रिक संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो,’ कोइरालाले भने, ‘तर आज पार्टीभित्रको अवस्था चिन्ताजनक छ। व्यक्तिगत वा समूहगत रूपमा होइन, सामूहिक नेतृत्व र एकतामार्फत मात्रै कांग्रेसलाई बलियो बनाउन सकिन्छ।’
उनले पार्टीका युवा नेताहरूको भूमिकाको चर्चा गर्दै नेतृत्वलाई थप समन्वयकारी र समावेशी बनाउनुपर्ने धारणा राखे। ‘कुनै एक व्यक्तिले मात्र पार्टीलाई अघि बढाउन सक्दैन। कांग्रेसको शक्ति सामूहिक नेतृत्व र संगठनात्मक एकतामा निहित छ,’ उनले भने।
कोइरालाले हालै कोइराला निवास पुगेको प्रसंग उल्लेख गर्दै पार्टीको वर्तमान अवस्थाले आफू भावुक बनेको बताए। ‘कोइराला निवास पुग्दा विगतका संघर्ष र योगदानहरू सम्झिएँ। पार्टीको आजको अवस्था देख्दा मन दुख्छ,’ उनले भने।
उनले कांग्रेसभित्र देखिएको विभाजनलाई दुर्भाग्यपूर्ण भन्दै पार्टीलाई पुनः एकताबद्ध बनाउनु आजको प्रमुख आवश्यकता भएको बताए। गाउँगाउँमा कांग्रेसप्रति समर्थन र संगठन भए पनि त्यसलाई मतमा रूपान्तरण गर्न नसकिएको उनको विश्लेषण थियो।
‘हाम्रो लक्ष्य पार्टीलाई थप विभाजित गर्ने होइन, एकताबद्ध बनाउने हुनुपर्छ,’ उनले भने, ‘जनताको विश्वास पुनः जित्न संगठनभित्रको एकता अपरिहार्य छ।’
कोइरालाले पार्टी एकीकरण र सुदृढीकरणको अभियानमा नेता शेखर कोइराला सक्रिय रूपमा लागिरहेको उल्लेख गर्दै त्यसमा सबै पक्षले सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
उक्त भेलालाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले समेत सम्बोधन गरेका थिए। कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, आगामी रणनीति तथा आन्तरिक एकताका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया