काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरेपछि प्रहरीले अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद प्राप्त गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साहमाथि दर्ता भएको ठगी मुद्दाको अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहविरुद्ध दर्ता भएको ठगीसम्बन्धी उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

advertisement

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई गत शनिबार जनकपुरधामको रामानन्द चोक क्षेत्रबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।

प्रहरी स्रोतका अनुसार साहविरुद्ध करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ठगी गरेको आरोपमा जाहेरी दर्ता भएपछि पक्राउ पुर्जी जारी गरिएको थियो। सोही मुद्दामा हाल अनुसन्धान भइरहेको छ।

यसैबीच, साहमाथि बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दासमेत रहेको खुलेको छ। अभियोगअनुसार आर्जव होल्डिङ्स प्रालिलाई दिइएको २५ लाख रुपैयाँको चेक सटही नभएपछि अदालतले बिगो असुल गरी एक महिनाको कैद सजाय हुने फैसला गरिसकेको छ।

आर्जव होल्डिङ्स प्रालिले काठमाडौँको नक्सालस्थित शिला रेस्टुरेन्ट सञ्चालन गर्दै आएको थियो। पछि उक्त रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गर्ने क्रममा साहले दिएको चेक बाउन्स भएको बताइएको छ।

सिरहाको कर्जन्हा नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँमा बसोबास गर्दै आएका ४० वर्षीय साह ‘मिथिला थाली’ ब्रान्डअन्तर्गत विभिन्न रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। उनका रेस्टुरेन्टहरू काठमाडौँको गौशाला र गैरीधारा, ललितपुरको झम्सिखेल तथा जनकपुरधाममा सञ्चालनमा छन्।

सन्तोष साह सन् २०२० मा बेलायतमा आयोजित चर्चित पाककला प्रतियोगिता ‘बीबीसी मास्टरसेफः द प्रोफेसनल्स’ मा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनरअप बनेपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका थिए। त्यसपछि उनी नेपाल फर्केर मिथिला परिकारको प्रवर्द्धन गर्ने उद्देश्यसहित रेस्टुरेन्ट व्यवसायमा सक्रिय भएका थिए।

हाल प्रहरीले साहविरुद्ध दर्ता भएका आरोपहरूको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com