धनगढी । अछामको ढकारी गाउँपालिका–४ बलाताकी वडा सदस्य मनिषा साउद मृत अवस्थामा फेला परेकी छन्। जेठ २९ गतेदेखि सम्पर्कविहीन भएकी ३५ वर्षीया साउदको शव दुई दिनपछि स्थानीय जंगल क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनाको प्रकृति र त्यसअघिका परिस्थितिलाई ध्यानमा राख्दै विस्तृत अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा सामाजिक अपमान, मानसिक दबाब तथा सामाजिक सञ्जालमार्फत फैलाइएका सामग्रीले घटनामा प्रभाव पारेको हुनसक्ने आशंका गरिएको छ।

advertisement

प्रहरीका अनुसार घटनाअघि गाउँमा भएको एक विवादास्पद घटनापछि साउदसँग सम्बन्धित तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएका थिए। त्यसपछि स्थानीय जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थितिमा छलफलसमेत भएको थियो।

उक्त घटनापछि साउद घरबाट निस्किएकी थिइन्। परिवार र स्थानीय तहले खोजी थालेपछि वडाध्यक्षमार्फत प्रहरीलाई जानकारी गराइएको थियो। खोजीका क्रममा उनी मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीले घटनासँग सम्बन्धित विभिन्न पक्षसँग सोधपुछ गरिरहेको जनाएको छ। घटनाको समयमा साउदसँग सम्बन्धित भनिएका एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

प्रहरीले सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्ने तथा त्यसबाट उत्पन्न हुनसक्ने मानसिक दबाबका पक्षबारे पनि अनुसन्धान केन्द्रित गरेको जनाएको छ। मृतकका परिवारका सदस्यको निवेदन र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको छ। मृतक साउदका दुई छोरी र एक छोरा रहेका छन्। रोजगारीको सिलसिलामा भारतमा रहेका उनका श्रीमान् घटनाको जानकारी पाएपछि नेपाल फर्किएको जनाइएको छ।

प्रहरीले घटनाको वास्तविक कारण, त्यसअघिका सामाजिक परिस्थिति तथा सम्भावित जिम्मेवार पक्षहरूको भूमिकाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: १ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com