काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक भ्यान र स्कार्पियो एकआपसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशातर्फ गइरहेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो आपसमा ठोक्किँदा दुवै सवारीसाधनमा सवार यात्रु घाइते भएका हुन्।
दुर्घटनामा म्याजिकमा सवार नवलपरासीको गैँडाकोट नगरपालिका–४ निवासी ४९ वर्षीया गौरी लामिछाने, २८ वर्षीया मनिषा आले, उनका २० महिनाका छोरा पिन्स आले, भरतपुर महानगरपालिका–१ निवासी २७ वर्षीया सीता दानी, इच्छाकामना गाउँपालिका–६ की २४ वर्षीया रचना गुरुङ तथा ५३ वर्षीय कान्छा दागी घाइते भएका छन्।
त्यसैगरी, स्कार्पियोमा सवार सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान् ५३ वर्षीय शशिभूषण अग्रवाल पनि घाइते भएका छन्।
घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था बारे थप विवरण सार्वजनिक गरिएको छैन।
दुर्घटनापछि म्याजिक चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–४ निवासी ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाहीको हरिवन नगरपालिका–२ निवासी ३४ वर्षीय अशोककुमार महतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












प्रतिक्रिया