काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
बिहीबार आयोजित नगरसभाको बैठकमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गर्दै आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेकी हुन्।
उनका अनुसार महानगरको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि सञ्चित कोषबाट २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ व्ययभार पर्नेछ भने अन्य बाह्य व्ययतर्फ ७५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत गरेको थियो। आगामी वर्षको बजेट सार्वजनिक गर्दै डंगोलले महानगरको सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने प्रक्षेपण गरिएको जानकारी दिइन्।
बजेटका लागि आवश्यक स्रोत व्यवस्थापन अन्तर्गत आन्तरिक आम्दानी र बैंक मौज्दातबाट २० अर्ब १८ करोड ६३ लाख २९ हजार रुपैयाँ जुट्ने अनुमान गरिएको छ। त्यस्तै, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान, वित्तीय समानीकरण तथा राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त जनसहभागितामार्फत एक करोड रुपैयाँ स्रोत संकलन हुने अनुमान महानगरले गरेको छ।
महानगरपालिकाले पूर्वाधार विकास, शहरी सेवा सुधार, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सुशासनका कार्यक्रमलाई आगामी वर्षको बजेटमा प्राथमिकताका साथ समेटेको जनाएको छ।
प्रकाशित मिति: ४ असार २०८३, बिहिबार












प्रतिक्रिया