गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरेपछि आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पट प्रहार गरेका थिए। उक्त आक्रमणबाट मुना गम्भीर घाइते भएकी थिइन्।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले घाइते मुनाको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनालगत्तै प्रहरीले आरोपी यमबहादुर कुमाललाई नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिए।
प्रकाशित मिति: १० असार २०८३, बुधबार













प्रतिक्रिया