काठमाडौं। लामो समयदेखि जारी सैन्य तनाव र मतभेदका बीच कतार र पाकिस्तानको कूटनीतिक पहलपछि संयुक्त राज्य अमेरिका र इरान पुनः वार्ताको टेबलमा फर्कन सहमत भएका छन्।
ओमानका लागि पूर्व अमेरिकी राजदूत रिचर्ड श्मियररले दुवै देशलाई सैन्य द्वन्द्वबाट पछाडि हटाउन तथा अवस्था थप जटिल हुन नदिन कतार र पाकिस्तानको भूमिका प्रभावकारी रहेको बताएका छन्।
हालका दिनमा दुवै पक्षले आफ्ना अडानलाई बलियो रूपमा प्रस्तुत गर्न सैन्य शक्ति प्रयोग गरेका थिए। तर, जवाफी आक्रमणमार्फत दुवै पक्षले आफ्नो सन्देश स्पष्ट गरिसकेको निष्कर्षसहित तत्कालका लागि गोलाबारी र हवाई आक्रमण रोकिने संकेत देखिएको छ।
यससँगै अमेरिका र इरान पुनः कूटनीतिक संवादतर्फ उन्मुख भएका छन्। आगामी मंगलबार कतार र पाकिस्तानको प्रत्यक्ष सहभागितामा दुई देशबीच उच्चस्तरीय वार्ता हुने तय भएको छ।
वार्ताको मुख्य एजेन्डामा विश्वकै महत्त्वपूर्ण व्यापारिक जलमार्ग हर्मुज जलडमरूमध्यको सुरक्षा अवस्था, तनाव न्यूनीकरणका उपाय तथा यसअघि भएका समझदारीलाई कार्यान्वयन गर्ने विषय रहने जनाइएको छ।
दुवै पक्षका प्राविधिक टोली वार्ता सफल बनाउन र दीर्घकालीन शान्तिको आधार तयार गर्न आवश्यक कूटनीतिक तयारीमा जुटेका छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया