काठमाडौं । काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई जबर्जस्ती तान्ने, झोला खोस्ने, अनावश्यक रूपमा पछ्याउने तथा विभिन्न किसिमले हैरानी दिने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले प्रहरी टोलीलाई समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
बुधबार पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ बसपार्क क्षेत्रमा नियमित निगरानी र विशेष सुरक्षा अभियान सञ्चालन भइरहेको जनाएको छ। यात्रुलाई अनावश्यक रूपमा दुःख दिने, ठगी गर्ने वा जबर्जस्ती सेवा लिन बाध्य पार्ने जो–कोहीमाथि कानुनअनुसार कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ।
प्रहरीले यात्रुलाई पनि कुनै व्यक्ति वा समूहबाट हैरानी, ठगी वा शंकास्पद गतिविधि भए तत्काल नजिकको प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया