बेइजिङ। चीनले प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। सोमबार गरिएको उक्त परीक्षणलाई चीनले नियमित सैन्य अभ्यासको हिस्सा भने पनि यसले क्षेत्रीय सुरक्षा र सैन्य गतिविधिबारे नयाँ चिन्ता उत्पन्न गरेको छ।

चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२:०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभी (पीएलए नेभी) को रणनीतिक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेडयुक्त रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। क्षेप्यास्त्र पूर्वनिर्धारित समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उनले बताए।

बेइजिङले परीक्षणअघि केही क्षेत्रीय मुलुकलाई जानकारी गराइएको र यो वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको जनाएको छ। तर जापानसहित केही देशहरूले यस कदमप्रति चिन्ता व्यक्त गर्दै चीनलाई संयमता अपनाउन आग्रह गरेका छन्।

यही दिन चीन र रुसले पूर्वी चीनको छिङदाओ बन्दरगाहबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन्। यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्याससँग सम्बन्धित थियो वा थिएन भन्नेबारे चीनले स्पष्ट पारेको छैन।

पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। न्युजिल्यान्डका सरकारी स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे पूर्वसूचना दिएको जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार रहेका छन् भने सन् २०३० सम्म त्यो संख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ।

यसअघि सेप्टेम्बर २०२४ मा पनि चीनले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा लामो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। पछिल्ला वर्षहरूमा प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधिले सुरक्षा र सामरिक सन्तुलनबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com