विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा देवरले खुकुरी प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन्। घटनामा बचाउन पुगेका एक जना आफन्त पनि घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ग्रामथान गाउँपालिका–६ झोवाबनीका २१ वर्षीय सौचन खवासले सोमबार राति करिब ८ः३० बजे आफ्ना दाजु कपिल खवासकी श्रीमती २० वर्षीया सीमा राजवंशीमाथि खुकुरी प्रहार गरेका थिए।
घाँटीमा गम्भीर चोट लागेपछि सीमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको कारण भने हालसम्म खुल्न नसकेको र प्रहरीले त्यसबारे अनुसन्धान अघि बढाएको छ।
आक्रमण रोक्न खोज्ने क्रममा ४४ वर्षीय शिवलाल खवास पनि घाइते भएका छन्। ठुलोबुबा नाता पर्ने शिवलालको दाहिने काँधमा गहिरो चोट लागेको छ। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न सौचन खवासलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित मिति: २३ असार २०८३, मंगलबार













प्रतिक्रिया