काठमाडौं । मोरङको रङ्गेलीस्थित प्रभु बैंक र ऋणी विक्रम मण्डलबिच ऋण असुलीका क्रममा जग्गा लिलामी तथा नामसारी गरिएको विषयलाई लिएर विवाद चर्किएको छ। मण्डलले बजार मूल्य करिब १० करोड रुपैयाँ पर्ने आफ्नो जग्गा बैंकका कर्मचारीको मिलेमतोमा जम्मा २ करोड ५ लाख रुपैयाँमा लिलामी गरिएको आरोप लगाउँदै न्यायका लागि विभिन्न निकाय धाइरहेका छन्।
मण्डलका अनुसार उनले सिद्धार्थ हस्पिटल सञ्चालन गर्ने उद्देश्यले २०७७ सालमा प्रभु बैंकबाट १ करोड ९० लाख रुपैयाँ ऋण लिएका थिए। तर अस्पताल सञ्चालन अपेक्षाअनुसार हुन नसकेपछि उनी आर्थिक समस्यामा परे र निर्धारित समयमा ऋण चुक्ता गर्न कठिनाइ भयो।
आर्थिक अवस्था सुधार गरी अस्पताल सञ्चालनलाई निरन्तरता दिन उनले बैंकसँग थप २५ लाख रुपैयाँ ऋण माग गरेको बताएका छन्। सुरुमा थप ऋण उपलब्ध गराउने आश्वासन दिए पनि पछि बैंकले रकम उपलब्ध नगराएको उनको भनाइ छ।
ऋण चुक्ता गर्ने उद्देश्यले आफ्नो जग्गा बिक्री गर्न खोज्दा सुरुमा बैंकले सहमति जनाएको तर पछि आफूलाई पर्याप्त जानकारी नदिई जग्गा लिलामी प्रक्रिया अघि बढाइएको मण्डलको दाबी छ। उनका अनुसार उक्त जग्गा २ करोड ५ लाख रुपैयाँमा लिलामी गरी हेमनारायण शाहको नाममा नामसारी गरिएको छ।
मण्डलले जग्गाको वास्तविक बजार मूल्य र लिलामी मूल्यबीच ठूलो अन्तर रहेको दाबी गर्दै बैंकका कर्मचारीको भूमिकामाथि प्रश्न उठाएका छन्। आफूले ऋण चुक्ता गर्न आवश्यक रकम जुटाएर बैंकमा बुझाउन खोज्दासमेत रकम स्वीकार नगरिएको उनको आरोप छ।
यस घटनापछि मण्डल परिवार बैंकको निर्णयविरुद्ध न्यायिक तथा प्रशासनिक निकाय धाउन बाध्य भएको छ। परिवारले जग्गा लिलामी प्रक्रिया, मूल्याङ्कन, सार्वजनिक सूचना तथा नामसारीको कानुनी वैधतामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।
यता प्रभु बैंकको रङ्गेली शाखाका प्रमुख प्रसन्न भण्डारीले भने ऋणीलाई जानकारी गराएरै कानुनी प्रक्रिया पूरा गरी जग्गा लिलामी गरिएको दाबी गरेका छन्। उनका अनुसार २०८२ असार २३ गते सातदिने सूचना जारी गरेर आवश्यक प्रक्रिया अघि बढाइएको हो।
बैंकले कानुनी प्रक्रिया पूरा भएको दाबी गरिरहँदा ऋणी पक्षले भने आफूलाई पर्याप्त जानकारी नदिई सम्पत्तिको वास्तविक मूल्यलाई बेवास्ता गर्दै लिलामी गरिएको आरोप लगाएको छ।
प्रकाशित मिति: ९ मंसिर २०८३, बुधबार













प्रतिक्रिया