काठमाडौं । प्रतिनिधिसभामा जेठ १७ गते भएको अवरोध र धकेलाधकेलको घटनाबारे गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सभामुख डोलप्रसाद अर्यालले संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।

प्रतिनिधिसभा बैठकका क्रममा विपक्षी दलका सांसदहरूले आफ्ना माग सम्बोधन नगरी प्रक्रिया अघि बढाइएको भन्दै सभामुखको आसनतर्फ जान खोजेका थिए। त्यसक्रममा कुर्सीसमेत उचालिएको थियो भने सांसद र मर्यादापालकमाथि समेत चोट लागेको थियो।

घटनाको भोलिपल्ट अर्थात् जेठ १८ गते सभामुख अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

समितिले जेठ २५ गते सभामुखसमक्ष प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन अध्ययनपछि त्यसमा उल्लेख गरिएका सुझाव तथा सिफारिस कार्यान्वयनका लागि सभामुखले सचिवालयलाई औपचारिक निर्देशन दिएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जारी गरेको विज्ञप्तिअनुसार प्रतिवेदनमा समेटिएका सिफारिसहरू क्रमशः कार्यान्वयन गरिनेछ।

समितिले घटनामा संलग्न कुनै पनि सांसदमाथि कारबाही गर्न भने सिफारिस गरेको छैन। बरु भविष्यमा यस्ता घटना दोहोरिन नदिन संसदीय मर्यादा, आचरण र बैठक सञ्चालनको अनुशासन कडाइका साथ पालना गर्नुपर्ने सुझाव प्रतिवेदनमा समावेश गरिएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com