काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले राहदानी विभागअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर सरकारमाथि कडा आलोचना गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले गणेश नेपालीको मृत्युलाई ‘राज्यद्वारा गरिएको हत्या’ को संज्ञा दिँदै सरकार नागरिकको सुरक्षा गर्न असफल भएको आरोप लगाए। उनले वर्तमान शासन व्यवस्था जनताको पक्षमा नभई नागरिकलाई चरम निराशातर्फ धकेल्ने दिशामा अघि बढेको दाबी गरे।
गृहमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले सरकार समस्या समाधानभन्दा प्रचारमुखी गतिविधिमा केन्द्रित रहेको आरोप लगाए। उनका अनुसार राज्यका नीति र व्यवहारले नागरिकलाई आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य बनाएको छ।
सुकुम्बासीका मुद्दादेखि गणेश नेपालीको घटनासम्म उल्लेख गर्दै उनले राज्यले नागरिकलाई संरक्षण गर्नुको सट्टा थप पीडामा धकेलेको आरोप लगाए। त्यसको राजनीतिक तथा नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ थियो।
महरले ऐतिहासिक प्रसंग उल्लेख गर्दै योगमाया न्यौपानेको जलसमाधिले राणा शासनविरुद्धको आन्दोलनलाई बल दिएको स्मरण गरे। त्यसैगरी गणेश नेपालीको आत्मदाहको घटनाले पनि वर्तमान सरकारलाई गम्भीर राजनीतिक मूल्य चुकाउन बाध्य पार्ने दाबी उनले गरे।
सम्बोधनको अन्त्यमा महरले सरकारविरुद्ध नाराबाजी गर्दै ‘यो सरकार मुर्दावाद’ भन्ने नारा लगाए।
उनले सरकारको सय दिने उपलब्धिको चर्चा भइरहेका बेला गरिब नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रमसमेत कटौती गरिएको उल्लेख गर्दै सरकारको प्राथमिकता र नैतिकतामाथि पनि प्रश्न उठाए।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार













प्रतिक्रिया