काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासेमा शनिबार ४५ वर्षीया #मृत फेला परेकी छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आफैँलाई आगो लगाएर आत्मदाह गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–तादी स्थायी घर भई काठमाडौँको मनमैजुमा बस्दै आएकी रिजाल साउन ८ गते बिहान करिब ७ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। उनी घर नफर्किएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

प्रहरी वृत्त बालाजुले उनको खोजी गरिरहेका बेला तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक एउटा गाडी शंकास्पद अवस्थामा रोकिराखेको सूचना प्राप्त भएको थियो।

स्थानीयले कालो सिसा भएको उक्त गाडीभित्र केही देख्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले पुगेर जाँच गर्दा बा.ई. ०४१० नम्बरको विद्युतीय कारभित्र रिजाल मृत अवस्थामा फेला परेकी थिइन्। उनी कारको पछिल्लो सिटमा थिइन् भने गाडीको चाबी चालक सिटमै रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि रिजालको शव उनका श्रीमानलाई बुझाइएको छ।

प्रहरीका अनुसार रिजाल मनमैजुस्थित शुभकामना चोकमा बस्दै आएकी थिइन्। अनुसन्धानका क्रममा उनी घरबाट निस्किएपछि सिधै घटनास्थल पुगेको र पेट्रोल छर्केर आफैँलाई आगो लगाएको देखिएको छ।

एसपी भट्टराईले घटनास्थलको सीसीटीभी फुटेज विश्लेषण गर्दा रिजालबाहेक अन्य व्यक्तिको उपस्थिति नदेखिएको बताए।

अनुसन्धानका क्रममा रिजालले कारको एयर कन्डिसन सञ्चालनमा राखेर सुरुमा गाडीबाहिर आफ्नो शरीरमा पेट्रोल छर्किएको र त्यसपछि कारभित्र प्रवेश गरी आगो लगाएको देखिएको प्रहरीले जनाएको छ। कारभित्र जलेको अवस्थामा तीनवटा लाइटरसमेत बरामद भएको छ।

प्रहरीका अनुसार कारको ढोका बन्द अवस्थामा थियो। घटनास्थलको सीसीटीभी फुटेजबाट समेत उनले आफैँलाई आगो लगाएको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्।

आगोका कारण रिजालको अनुहार र खुट्टामा गम्भीर क्षति पुगेको थियो। कारको भित्री भाग जले पनि बाहिरी भागमा भने आगोले क्षति नपुर्‍याएको प्रहरीले जनाएको छ।

रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। केही समयदेखि उनी तनावमा रहेको र अघिल्लो महिना लगातार तीन दिन कार्यालयमा अनुपस्थित भएपछि कार्यालयले समेत उनको खोजी गरेको जनाइएको छ।

घटनास्थलमा फेला परेको विद्युतीय कार रिजालकै रहेको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com