काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले वर्तमान सरकारको सयदिने कार्यकाल पूर्ण रूपमा असफल भएको दाबी गर्दै जनतामा आशा जगाउनुको सट्टा निराशा र अविश्वास बढाएको आरोप लगाएकी छन्।

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले सुशासन र समृद्धिमा उल्लेखनीय प्रगति भएको दाबी गरिरहे पनि वास्तविकता त्यसको ठीक विपरीत रहेको बताइन्। मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंमा आत्मदाह गर्न बाध्य भएको घटनाले राज्यको असंवेदनशीलता र शासन व्यवस्थाको असफलता उजागर गरेको उनको भनाइ थियो।

‘सरकारले सुशासनमा ८७ प्रतिशत सफलता हासिल गरेको दाबी गरिरहेको छ, तर त्यही अवधिमा एक युवा आत्मदाह गर्न बाध्य हुनु राज्यका लागि गम्भीर प्रश्न हो,’ उनले भनिन्।

सांसद ओलीले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने सरकारको प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको आरोप पनि लगाइन्। उनले सहकारी अपचलन र सम्पत्ति शुद्धीकरणजस्ता प्रकरणमा प्रभावशाली व्यक्तिहरूलाई संरक्षण गर्ने र राजनीतिक प्रतिशोधको शैली अपनाउने काम भइरहेको दाबी गरिन्।

आर्थिक नीतिमा सरकार आफैं विरोधाभासमा परेको टिप्पणी गर्दै उनले विगतमा वैदेशिक ऋणको विरोध गर्नेहरू अहिले त्यही ऋणका लागि अन्तर्राष्ट्रिय समुदायसँग हात फैलाइरहेको बताइन्। साथै, नेपाल वित्तीय निगरानीको अन्तर्राष्ट्रिय जोखिम बढ्दै गएको उल्लेख गर्दै ‘फ्याटफ’को ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा पर्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरिन्।

परराष्ट्र नीतिमा पनि सरकारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको आरोप थियो। प्रधानमन्त्रीका विदेश भ्रमणबाट राष्ट्रिय हितअनुकूल कुनै ठोस उपलब्धि प्राप्त नभएको दाबी गर्दै उनले कूटनीतिक सक्रियताको प्रभावकारितामाथि प्रश्न उठाइन्।

सांसद ओलीले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने धारणा दोहोर्‍याउँदै संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको विषयमा गम्भीर राष्ट्रिय बहस सुरु गर्नुपर्ने बताइन्। साथै, संविधान संशोधनलाई पनि खुला र व्यापक राष्ट्रिय छलफलमार्फत अघि बढाउनुपर्नेमा उनले जोड दिइन्।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com