काठमाडौं । मध्यपूर्वमा इरान र अमेरिकाबीचको सैन्य तनाव झन् गम्भीर बन्दै गएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको घोषणा गर्दै करिब १४० सैन्य लक्ष्यमा आक्रमण गरिएको जनाएको छ।
सेन्टकमले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार आक्रमणमा इरानका क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार प्रणाली र अन्य सैन्य पूर्वाधारलाई निशाना बनाइएको छ।
यसअघि सेन्टकमले जारी गरेको अर्को वक्तव्यमा व्यावसायिक जहाजमाथि भएका आक्रमणपछि इरानलाई सम्झौताअनुसार व्यवहार सुधार्ने अवसर दिइएको दाबी गर्दै तेहरान त्यसमा असफल भएको आरोप लगाएको थियो।
उता, युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले ओमानको तट नजिक शनिबार राति भएको घटनापछि एक कन्टेनर जहाजमा आगलागी भएको जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यम ‘प्रेस टिभी’का अनुसार दक्षिणी इरानका विभिन्न क्षेत्रमा विस्फोट भएका छन्। साथै, इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य लक्ष्यविरुद्ध शृङ्खलाबद्ध जवाफी आक्रमण सुरु गरेको दाबी गरेको छ।
इरानी सञ्चारमाध्यमका अनुसार संयुक्त अरब इमिरेट्स र कतारस्थित अमेरिकी लक्ष्यमा आक्रमण भएको छ भने बहराइनमा क्षेप्यास्त्र आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको छ।
तनाव बढेसँगै कतारको गृह मन्त्रालयले केही घण्टाभित्र दोस्रो पटक राष्ट्रिय सुरक्षा सतर्कताको स्तर बढाउँदै नागरिकलाई घरभित्रै बस्न, सिसाका झ्यालबाट टाढा रहन, अनावश्यक आवतजावत नगर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयर बेसको कमाण्ड तथा नियन्त्रण केन्द्र र ड्रोन ह्याङ्गरमा आक्रमण गरी ध्वस्त पारेको दाबी गरेको छ।
इरानले यसअघि अनधिकृत मार्ग प्रयोग गरिरहेको एक जहाजमाथि कारबाही गरिएको जनाउँदै त्यसपछि होर्मुज जलसन्धि बन्द गर्ने निर्णय गरेको थियो। साथै, उक्त घटनाको प्रतिशोध लिन गरिने कुनै पनि प्रयासको कडा जवाफ दिइने चेतावनी पनि दिएको थियो।
आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार समुद्री सुरक्षामा जोखिम सिर्जना गर्ने उद्देश्यले आफ्नो पहिचान प्रणाली बन्द गरेको जहाजमाथि कारबाही गरिएको हो। इरानले अर्को सूचना जारी नभएसम्म तथा क्षेत्रमा अमेरिकी सैन्य हस्तक्षेप अन्त्य नभएसम्म होर्मुज जलसन्धि बन्द रहने स्पष्ट पारेको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया