काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। त्यसपछि आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको कार्यशैलीमाथि तीव्र असन्तुष्टि जनाउँदै वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाए।
झापाबाट काठमाडौं फर्किएपछि सुकुम्बासी समस्या, आत्मदाहका घटना र समसामयिक राष्ट्रिय विषयमा धारणा सार्वजनिक गर्ने तयारीमा रहेका प्रसाईँलाई विमानस्थलमै काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले केही समयपछि उनलाई आफ्नै सवारीसाधनमार्फत घर पुर्याएर छाडेको जनाएको छ।
घर पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले सर्वहारा वर्ग, घरबारविहीन नागरिक र आत्मदाहजस्ता घटनाले मुलुक गम्भीर सामाजिक संकटतर्फ उन्मुख भएको दाबी गरे। देशको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको र नागरिक निराशाको चरम अवस्थामा पुगेको उनको भनाइ थियो।
प्रसाईँले पछिल्ला तीन दशकभन्दा बढी समयदेखि राजनीतिक दलहरूले भ्रष्टाचार, शोषण र आर्थिक अनियमिततालाई संस्थागत बनाएको आरोप लगाए। जनताले परिवर्तनको अपेक्षासहित नयाँ सरकारलाई समर्थन गरे पनि सरकारले आफ्नै समर्थक जनतालाई निराश बनाएको दाबी गर्दै सुकुम्बासी बस्ती हटाउने कार्यको समेत आलोचना गरे।
सवारीसाधनमा लगाइएको चर्को ट्राफिक जरिवानाबारे बोल्दै उनले नेपालमा पर्याप्त पूर्वाधार विकास नगरी दण्डात्मक नीति लागू गरिएको टिप्पणी गरे। सडक र सार्वजनिक सेवाको स्तर सुधार नगरी नागरिकमाथि आर्थिक भार थपिएको उनको आरोप थियो।
आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई राहत र रोजगारी दिने सरकारी घोषणाप्रति पनि प्रसाईँले प्रश्न उठाए। यस्ता घटना दोहोरिन नदिन राज्यले कारण समाधान गर्नुपर्नेमा घटना भएपछि मात्रै राहत घोषणा गर्नु पर्याप्त नहुने उनको भनाइ थियो।
देशमा आत्महत्या र सामाजिक पीडाका घटना बढिरहेको उल्लेख गर्दै प्रसाईँले सरकारले नागरिकका आधारभूत समस्याप्रति गम्भीरता नदेखाएको आरोप लगाए। उनले वर्तमान सरकारलाई जनताको अपेक्षा पूरा गर्न असफल भएको टिप्पणी गर्दै भने, “यो सरकार हाम्रो होइन, नेपालीहरूको सरकार होइन।”
प्रकाशित मिति: २८ असार २०८३, आइतबार













प्रतिक्रिया