काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषा, साहित्य र राष्ट्रिय चेतनाको आधारशिला भएको उल्लेख गर्दै उनी केवल एक कवि नभई नेपाली आत्माको स्वर भएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्त राष्ट्रिय विभूति, नेपाली भाषाका संवाहक तथा जनचेतनाका प्रतिनिधि स्रष्टा भएको बताए।
उनले भानुभक्तले संस्कृतमा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी धर्म, दर्शन, नीति र आदर्शलाई आम नागरिकसम्म सहज रूपमा पुर्याएको उल्लेख गरे। उनका अनुसार भानुभक्तको योगदानले नेपाली भाषालाई घर–घरमा स्थापित गर्नुका साथै राष्ट्रिय सांस्कृतिक एकतालाई थप सुदृढ बनाएको छ।
सभामुख अर्यालले साहित्य विद्वान्को घेरामा सीमित रहने विषय नभई जनताको जीवन र भावनासँग जोडिएको माध्यम भएको भानुभक्तले आफ्नो सिर्जनामार्फत प्रमाणित गरेको बताए। नेपाली भाषा नै देशभित्र र विदेशमा रहेका नेपालीलाई एउटै भावनात्मक सूत्रमा बाँध्ने आधार बनेको उनको भनाइ थियो।
उनले भानुभक्तलाई केवल स्मरण गर्ने दिनका रूपमा नभई उनको विचार, आदर्श र योगदानलाई व्यवहारमा उतार्ने अवसरका रूपमा जन्मजयन्तीलाई लिनुपर्नेमा जोड दिए। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र तीव्र सामाजिक परिवर्तनका बीच नेपाली भाषा, साहित्य, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन सबैको साझा दायित्व भएको उनले बताए।
सभामुख अर्यालले भानुभक्तले देखाएको सरल, स्पष्ट र जनमुखी साहित्यिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्न, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा भानुभक्तको आदर्शलाई समयानुकूल ढंगले अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली साहित्यको विकासमा योगदान पुर्याएको भन्दै साहित्यकार महेश्वर शर्मा र डा. आना एम. स्टिरलाई रथारोहणसहित सम्मान गरिएको थियो।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार













प्रतिक्रिया