काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यसको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेको छ।

सोमबार जारी विज्ञप्तिमा रास्वपाले सञ्चारमाध्यम र पत्रकारलाई मनोवैज्ञानिक दबाब तथा त्रासमा पार्ने उद्देश्यले गरिने यस्ता गतिविधि लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताविपरीत रहेको उल्लेख गरेको छ।

पार्टीले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र निर्भीक पत्रकारिता अपरिहार्य रहेको भन्दै राज्यको चौथो अंगका रूपमा रहेका सञ्चारमाध्यमले कुनै डर, धम्की वा हस्तक्षेपबिना आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्न पाउनुपर्नेमा जोड दिएको छ।

रास्वपाले कुनै पनि बहानामा प्रेस स्वतन्त्रता कमजोर पार्ने, सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने वा स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने प्रयास अस्वीकार्य हुने स्पष्ट पारेको छ।

विज्ञप्तिमा घटनाको यथार्थ छानबिन गरी संलग्न व्यक्तिको पहिचान गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक एवं मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरिएको छ।

साथै, रास्वपाले सञ्चारकर्मीलाई कुनै पनि प्रकारको दबाब वा त्रासबाट प्रभावित नभई सत्यतथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र स्वतन्त्र सञ्चार अभ्यासको पक्षमा पार्टी सधैं दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति: २९ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This