काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास, उत्पादन प्रवर्द्धन र बजार विस्तारका लागि सरकार आवश्यक सहयोग गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीहरूले सामना गरिरहेका नीतिगत तथा व्यवहारिक अवरोध हटाउन सरकार सक्रिय रहेको बताए। महिला उद्यमीका उत्पादनलाई देशभरका प्रमुख पर्यटकीय गन्तव्यमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने उनले जानकारी दिए।

छलफलका क्रममा महासंघले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका उत्पादन तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, व्यापार मेला तथा प्रदर्शनीमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो।

महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न गरिएको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई शीघ्र बजारमा ल्याउन आग्रह गरे। साथै, महासंघले आयोजना गर्ने वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य आवश्यक रहेको पनि उल्लेख गरियो।

महासंघले सार्वजनिक खरिद ऐन तथा नियमावलीमा महिला उद्यमीलाई प्राथमिकता दिने व्यवस्था गर्न, सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा महिला उद्यमीका उत्पादन तथा सेवाको खरिदलाई प्रोत्साहन गर्न माग गरेको छ।

प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्यमीसम्म प्रभावकारी रूपमा नपुगेको गुनासो गर्दै गाउँ–गाउँसम्म सहुलियत विस्तार गर्न, धितोको वैकल्पिक व्यवस्था गर्न तथा पुँजी अभावका कारण उद्यमीका योजना रोकिन नदिने नीति ल्याउन आग्रह गरे।

महिला उद्यमीहरूको छाता संस्था महासंघलाई नीति निर्माणका विभिन्न तहमा सहभागी गराउनुपर्ने मागसमेत गरिएको छ। स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि दक्ष प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता महासंघले व्यक्त गरेको छ।

आफ्ना समस्या र सुझावलाई गम्भीरतापूर्वक सुनेर सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाएकोमा महासंघका प्रतिनिधिहरूले प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com