हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोलाको किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा एक किशोरको डुबेर मृत्यु भएको छ। घटनामा हेटौंडा उपमहानगरपालिका–१७ निवासी केशव राईका करिब १३–१४ वर्षीय छोरा युकेश राईको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब १:१० बजे युकेश आफ्ना चार–पाँच जना साथीहरूसँग पौडी खेलिरहेका बेला पानी जमेको गहिरो खाल्डोमा डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोली उद्धारमा जुटेको थियो। खोजी कार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको समेत सहयोग लिइएको थियो।
संयुक्त खोजी अभियानका क्रममा दिउँसो करिब २ बजे युकेशलाई डुबेकै स्थानबाट उद्धार गरिएको थियो। तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले दिउँसो २:२५ बजे उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले शवलाई हेटौंडा अस्पतालमै राखिएको जानकारी दिँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
घटनापछि प्रहरीले वर्षायाममा खोलानाला, नदी तथा पानी जमेका जोखिमयुक्त स्थानमा पौडी नखेल्न सबैलाई आग्रह गरेको छ। साथै अभिभावकलाई आफ्ना बालबालिकालाई यस्ता जोखिमपूर्ण स्थानमा जान नदिन विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढी आएको समयमा खोला, खोल्सा वा लच्का पार गर्ने जोखिमपूर्ण प्रयास नगर्न र पानीको बहाव कम भएपछि मात्र यात्रा गर्न पनि प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार













प्रतिक्रिया