ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेशमा तीन ठूला राजनीतिक दल मिलेर सरकार गठन गर्ने प्रस्ताव लोकतान्त्रिक मूल्य–मान्यता र जनादेशविपरीत हुने भन्दै कांग्रेसले यस्तो अभ्यासलाई स्वीकार नगर्ने स्पष्ट पारेका छन्।

सन्तनेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले लोकतान्त्रिक व्यवस्थामा सरकार र प्रतिपक्ष दुवै उत्तिकै महत्वपूर्ण संस्था भएकाले सबै ठूला दल एउटै सरकारमा सहभागी हुने अभ्यास उपयुक्त नहुने धारणा राखे।

उनले तीन दल मिलेर सरकार गठन गर्दा प्रदेशसभामा प्रभावकारी प्रतिपक्षको भूमिका कमजोर हुने र मतदाताले निर्वाचनमार्फत दिएको जनादेशसमेत ओझेलमा पर्ने बताए।

‘निर्वाचनको परिणाम जे आए पनि नेपाली कांग्रेस सिद्धान्तमा सम्झौता गर्दैन। जनादेशविपरीत हुने कुनै पनि राजनीतिक अभ्यास हामीलाई स्वीकार्य छैन,’ थापाले भने।

उनले विगतमा सत्ता केन्द्रित राजनीतिक संस्कारकै कारण मुलुकमा अस्थिरता बढेको उल्लेख गर्दै अब राजनीतिक दलहरूले तत्कालीन सत्ता स्वार्थभन्दा लोकतान्त्रिक मूल्य, राजनीतिक नैतिकता र जनमतको सम्मानलाई प्राथमिकता दिनुपर्ने बताए।

थापाले निर्वाचनअघि एउटा दलसँग गठबन्धन गर्ने र निर्वाचनपछि अर्कै दलसँग सत्ता साझेदारी गर्ने प्रवृत्तिले सरकार र प्रतिपक्षबीचको स्पष्ट सीमारेखा मेटाएको टिप्पणी गरे। यस्तो अभ्यासले दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाउने र लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने उनको भनाइ थियो।

सभापति थापाले नेपाली कांग्रेस विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै अब सिद्धान्त, जनादेश र लोकतान्त्रिक मूल्यमान्यताका आधारमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com