काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन्।

आज बिहान श्रीलंकाबाट प्रस्थान गरेका प्रचण्ड पूर्वनिर्धारित कार्यतालिकाअनुसार बिहान ११:५५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। विमानस्थलमा पार्टीका वरिष्ठ नेता, पदाधिकारी तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए।

प्रचण्डले श्रीलंकामा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन र समापन सत्रलाई सम्बोधन गरेका थिए। उनले विश्व शक्ति सन्तुलन, दक्षिण एसियाली जनआन्दोलन, साम्राज्यवाद, नवउदारवाद र २१औँ शताब्दीको समाजवादबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।

भ्रमणका क्रममा उनले ग्लोबल साउथ एकेडेमिक फोरमलाई विशेष अन्तर्वार्ता दिँदै नेपालको शान्ति प्रक्रिया, जनयुद्धपछिको राजनीतिक रूपान्तरण, समकालीन वाम आन्दोलनका चुनौती र समाजवादी रूपान्तरणको भावी दिशाबारे विचार राखेका थिए।

प्रचण्डले श्रीलंकाको कम्युनिस्ट पार्टी र सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का शीर्ष नेताहरूसँग पनि छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गरेका थिए। भेटमा दुई देशका कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक अभ्यास, आर्थिक विकास, सुशासन तथा दक्षिण एसियाली वामपन्थी सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ।

त्यसैगरी, सम्मेलनमा सहभागी विभिन्न देशका राजनीतिक नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग पनि उनले भेटघाट गर्दै आपसी सम्बन्ध विस्तार गरेका थिए।

पार्टीका अनुसार उक्त भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एसियाली प्रगतिशील शक्तिहरूसँग राजनीतिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com