काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हासिल गरे देशको समग्र राजनीतिक परिस्थिति बदलिने बताएका छन्।
तनहुँको आँबुखैरेनीमा आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनमा उम्मेदवारको व्यक्तिगत छवि, विगतको राजनीतिक योगदान, इतिहास र सामाजिक पृष्ठभूमिले निर्णायक भूमिका खेल्ने बताए।
उनका अनुसार स्थानीय तहको निर्वाचनमा मतदाताले उम्मेदवारलाई नजिकबाट चिनेका हुने भएकाले राष्ट्रिय राजनीतिमा देखिने जस्तो लहरका आधारमा मात्रै मतदान गर्ने अवस्था रहँदैन। उम्मेदवारको व्यवहार, जनतासँगको सम्बन्ध र विगतको कामको मूल्याङ्कन गरेर मतदाताले आफ्नो निर्णय लिने उनको भनाइ थियो।
‘सङ्घको जस्तो स्थानीय हुँदैन। उम्मेदवार नै नचिनीकन, उसको इतिहास र पृष्ठभूमि नै थाहा नभईकन जनताले यसपटक भोट हाल्दैनन्। त्यसैले पहिलाको जस्तो हुरीबतास स्थानीय तहमा आउन सम्भव छैन,’ उनले भने।
प्रचण्डले निर्वाचनअघि नै पराजयको मानसिकता बनाएर निराश हुनुभन्दा पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर चुनावी अभियानमा जुट्नुपर्नेमा जोड दिए। दृढ संकल्प र जित्ने आत्मविश्वासका साथ अघि बढे स्थानीय निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न सक्ने उनले बताए।
त्यस्तै, आफूलाई नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरिरहेका दल र तिनको राजनीतिक चरित्रबारे पनि जनताले विस्तारै बुझ्न थालेको प्रचण्डको दाबी थियो। बुद्धिजीवी तथा सचेत नागरिकले नयाँ भनिएका राजनीतिक शक्तिहरूलाई बुझिसकेको उल्लेख गर्दै उनले गाउँगाउँका मतदाताले पनि क्रमशः वास्तविकता थाहा पाउँदै जाने बताए।
प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलबार













प्रतिक्रिया