काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि मिटरब्याज पीडित, अर्थतन्त्र, रोजगारी र पुँजी बजारलगायत विषयमा कडा आलोचना गरेका छन्। उनले सरकारले जनताका समस्या समाधान गर्नुको सट्टा तथ्य लुकाएर भ्रम सिर्जना गरिरहेको आरोप लगाए।
आइतबार एमाले संसदीय विभागद्वारा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको दाबी गरे।
‘मिटरब्याज पीडितलाई सरकारले फेरि एकपटक धोका दिएको छ। समस्या समाधान गर्नुको सट्टा ढाकछोप र भ्रम सिर्जना गर्ने काम भइरहेको छ,’ उनले भने।
अर्थतन्त्रबारे टिप्पणी गर्दै ओलीले सरकार वास्तविक अवस्था स्वीकार्न तयार नभएको आरोप लगाए। डुबिरहेको अर्थतन्त्रलाई सामान्य देखाउने प्रयासले मुलुकलाई झन् गम्भीर संकटतर्फ धकेलेको उनको भनाइ थियो।
उनले बजारमा मूल्यवृद्धि र करको भार बढ्दै गए पनि सरकारका जिम्मेवार व्यक्तिहरूले तथ्य बङ्ग्याएर प्रस्तुत गरिरहेको आरोप लगाए।
रोजगारीको अवस्था सुधार्न सरकार असफल भएको उल्लेख गर्दै ओलीले युवाको विदेश पलायन अझ बढेको दाबी गरे। सरकारले रोजगारी सिर्जना गर्न नसकेको यथार्थ लुकाउन तथ्यांकलाई तोडमोड गरिएको उनको आरोप थियो।
एमालेको लोकप्रियतालाई योजनाबद्ध रूपमा कमजोर बनाउने प्रयास भएको दाबी गर्दै उनले पार्टीले पुनः जनतामाझ गएर विश्वास जित्ने अभियान अघि बढाउने बताए।
ओलीले वर्तमान सरकारको कार्यकालमा पुँजी बजार पनि प्रभावित भएको दाबी गर्दै शेयर बजारबाट ठूलो परिमाणको लगानी हराएको उल्लेख गरे। उनका अनुसार बजारमा लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको छ।
उनले विगतमा एमाले नेतृत्वले सशस्त्र द्वन्द्वको अन्त्य गर्दै माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको तथा राजतन्त्रलाई लोकतान्त्रिक प्रक्रियामार्फत विदाइ गरेको ऐतिहासिक भूमिका पनि स्मरण गराए।
सांसदहरूलाई सम्बोधन गर्दै ओलीले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न अरूको तयारीमा निर्भर नपर्न आग्रह गरे। उनले प्रविधि, अध्ययन र तथ्यमा आधारित बहसमार्फत जनसरोकारका विषय उठाउन निर्देशन दिँदै ‘संसद्मा संख्याभन्दा सत्य र तथ्य नै सबैभन्दा ठूलो शक्ति हो’ भन्ने धारणा व्यक्त गरे।
प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार












प्रतिक्रिया