काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–१० ट्याङ्लाफाँटमा गुडिरहेको निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार ट्याङ्लाफाँटको चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा अचानक आगो लागेको थियो। आगलागी भएपछि चालकले बाहिर निस्कने प्रयास गरे पनि सफल हुन नसकेको र कारभित्रै जलेर मृत्यु भएको जनाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा जलेर मृत फेला परेका हुन्। मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर प्रयोग गरी आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए। पछि दमकलसमेत घटनास्थलमा पुगेको थियो।
कारमा आगलागी हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार












प्रतिक्रिया