काठमाडौं । नेपालको प्रादेशिक राजनीतिमा करिब २५ महिनापछि ठूलो सत्ता समीकरण परिवर्तन भएको छ। नेपाली कांग्रेस–एमाले गठबन्धन कमजोर बन्दै गएपछि एमाले र नेकपाबीच प्रदेश सरकारहरूमा पुनः सहकार्यको प्रक्रिया अघि बढेको छ।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करिब तीन घण्टा लामो छलफल भएको थियो। छलफलमा प्रदेश सरकारमा सत्ता साझेदारी, आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा चुनावी तालमेल तथा दीर्घकालीन वाम सहकार्यका विषयमा सकारात्मक सहमति बनेको स्रोतहरूको भनाइ छ।
जनकपुर पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको पुष्टि गरेका छन्। उनका अनुसार प्रदेश सरकारहरूको स्थायित्वका लागि दुवै दलबीच सहकार्य आवश्यक देखिएको हो।
नेकपाले सुरुमा कांग्रेस–एमाले–नेकपा सम्मिलित तीनदलीय सहकार्यको प्रस्ताव राखे पनि कांग्रेस प्रतिपक्षमा बस्न इच्छुक देखिएपछि एमालेसँग वाम गठबन्धनको विकल्प अघि बढाइएको बताइएको छ।
उता एमाले सचिव महेश बस्नेतले पनि ओली–प्रचण्ड भेटपछि वाम सहकार्यले औपचारिक रूप लिन थालेको प्रतिक्रिया दिएका छन्। उनले यसले प्रदेश सरकारमा स्थायित्व ल्याउन र साझा राजनीतिक एजेन्डा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
दुवै दलका शीर्ष नेताबीच काठमाडौंमा औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको जनाइएको छ। त्यसपछि प्रदेश सरकार पुनर्गठनको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ।
नयाँ समीकरणसँगै कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन तथा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया सुरु हुने सम्भावना बढेको छ।
यस राजनीतिक फेरबदललाई पछिल्ला वर्षहरूमा देखिएको सत्ता समीकरणको सबैभन्दा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार













प्रतिक्रिया