काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट भएर चारैतिरबाट राजनीतिक दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको अधिकारका लागि साझा न्यूनतम कार्यक्रम बनाएर अघि बढ्नुपर्ने धारणा राखे।

उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन अघि बढाउनुपर्ने बताए। साथै, गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि हुने हस्तक्षेपविरुद्ध जनतालाई संगठित र आन्दोलनमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

‘साझा न्यूनतम कार्यक्रम आवश्यक छ। राष्ट्रिय स्वाधीनताका लागि कसरी आन्दोलन गर्ने भन्ने विषयमा साझा धारणा बनाउनुपर्छ,’ प्रचण्डले भने, ‘जनताको अधिकार खोस्ने प्रयासविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ।’

उनले संघर्षलाई सदन र सडक दुवै मोर्चामा अघि बढाउँदै आगामी निर्वाचनलाई समेत राजनीतिक संघर्षको महत्वपूर्ण माध्यम बनाउनुपर्ने बताए। ‘सदनमा लड्ने, सडकमा लड्ने र आगामी निर्वाचनमा पनि लड्ने हो। चारैतिरबाट घेरा हाल्ने हो,’ उनले भने।

प्रचण्डले आफ्नो राजनीतिक संघर्षको शैली अरूको भन्दा फरक हुने उल्लेख गर्दै विगतका घटनाबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने बताए। उनका अनुसार राजनीतिक परिवर्तनका लागि आवश्यक रणनीति आफ्नै परिस्थितिअनुकूल तय गरेर अघि बढ्नुपर्छ।

उनले पछिल्लो ‘जेनजी’ आन्दोलनलाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यसले पूर्णता पाउन नसकेको दाबी गरे। यस्तो अवस्थामा वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र एकता अझ आवश्यक रहेको उनले बताए।

भारतमा निर्वासित तिब्बती नेता दलाई लामाको जन्मोत्सव मनाइएको प्रसंगसमेत उल्लेख गर्दै प्रचण्डले त्यसलाई सामान्य विषयका रूपमा मात्र लिन नहुने धारणा व्यक्त गरे। उनले पछिल्लो राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक विश्लेषण गर्दै राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि राजनीतिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com