काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध वामपन्थी शक्तिहरूलाई साझा आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। उनले संसद्, सडक र जनआन्दोलनलाई समानान्तर रूपमा अघि बढाउँदै आवश्यक परे एकै दिनमा सत्ता परिवर्तन गर्न सकिने दाबी गरेका हुन्।
शुक्रबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रान्तिको प्रक्रिया अझै समाप्त नभएको दाबी गरे। त्यसलाई रोक्न लोकतान्त्रिक आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए।
उनले अहिले सत्तामा रहेका दलहरूले नै एकै दिनमा सरकार परिवर्तन गर्न सकिने उदाहरण प्रस्तुत गरिसकेको उल्लेख गर्दै अब वामपन्थी शक्तिहरूले पनि साझा रणनीतिका साथ अघि बढ्नुपर्ने बताए।
प्रचण्डका अनुसार आन्दोलनलाई प्रभावकारी बनाउन सबै वाम दलले साझा न्यूनतम कार्यक्रम तय गर्नुपर्छ। प्रत्येक दलले आफ्नो संगठनात्मक क्षमताअनुसार काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा ठूलो जनसहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
‘संसद्मा पनि संघर्ष गर्ने, निर्वाचनमार्फत पनि प्रतिस्पर्धा गर्ने र आवश्यक परे सडकबाट पनि दबाब सिर्जना गर्ने सबै विकल्प खुला छन्,’ उनले भने, ‘यदि काठमाडौंमा लाखौँ मानिस र जिल्ला सदरमुकामहरूमा पनि व्यापक जनसहभागिता जुटाउन सकियो भने परिवर्तन सम्भव हुन्छ।’
यद्यपि उनले आन्दोलनको उद्देश्य केवल सरकार फेरबदल नभई लोकतान्त्रिक उपलब्धिको रक्षा र प्रतिक्रान्तिलाई रोक्नु भएको स्पष्ट पारे। सरकार बनाउने र गिराउने सीमित खेलमा मात्र अल्झिए मुलुक थप संकटतर्फ धकेलिन सक्ने उनको चेतावनी थियो।
प्रचण्डले अहिले नै सबै वाम दललाई एउटै पार्टी बनाउने सम्भावना नरहेको पनि बताए। पार्टी एकीकरणभन्दा तत्काल कार्यगत एकता र साझा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले विश्वास र इमानदारीका साथ सहकार्य अघि बढे भविष्यमा व्यापक वाम एकताको आधार तयार हुन सक्ने धारणा राखे।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया