जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिस्ट पार्टीहरूकै कारण मुलुक लामो समयदेखि राजनीतिक अस्थिरताको चक्रमा फसेको आरोप लगाएका छन्।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा भएको पछिल्लो सहमतिबारे प्रतिक्रिया दिँदै अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट दलहरूले विगतदेखि नै सत्ता भागबन्डालाई प्राथमिकता दिँदै आएको टिप्पणी गरे।

‘विगत ४० वर्षदेखि यी दलहरूले के–के गरे, जनतालाई सबै थाहा छैन र ?’ उनले प्रश्न गरे।

यादवका अनुसार पछिल्लो चार दशकमा मिलीजुली सरकार र सत्ता भागबन्डाका नाममा ३५ वटा सरकार गठन भइसकेका छन्। अहिले पनि कांग्रेस र कम्युनिस्ट दलहरू त्यही प्रवृत्तिलाई निरन्तरता दिइरहेको उनको आरोप छ।

‘अहिले पनि त्यही गरिरहेका छन्,’ उनले भने, ‘जनताको चाहना स्थायी सरकार र विकास निर्माण हो। तर जनताको चाहनाप्रति उनीहरूलाई कुनै वास्ता नै छैन।’

प्रदेश सरकार गठनका विषयमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको पछिल्लो सहमतिप्रति लक्षित गर्दै यादवले राजनीतिक दलहरूको सत्ता खेल समाप्त भएपछि मात्रै आफ्नो पार्टीले आगामी रणनीतिबारे निर्णय गर्ने बताए।

‘यी दलहरूको खेल सकियोस्, त्यसपछि हामी हाम्रोतर्फबाट के गर्ने भन्नेबारे सोच्छौँ,’ उनले भने।

अध्यक्ष यादवले मधेस प्रदेश सरकारका विषयमा अहिलेसम्म आफ्नो पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पारे। उनले मधेसमा पुराना तीन दलको गठबन्धन सरकार रहेकाले उनीहरूकै गठबन्धनलाई निरन्तरता दिने प्रयास भइरहेको दाबी गरे।

‘मधेस प्रदेशमा तीन दलको गठबन्धन सरकार छ। उनीहरू त्यही गठबन्धनलाई निरन्तरता दिन चाहन्छन्। तीन दलको तमासा सकिएपछि हामी के गर्ने भन्नेबारे विचार गर्छौँ,’ यादवले भने।

शनिबार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच पाँच प्रदेशमा सरकार गठनका लागि सत्ता भागबन्डा गर्ने सहमति भएको थियो। मधेस र गण्डकी प्रदेशमा भने अन्य दलको समर्थन आवश्यक पर्ने भएकाले ती प्रदेशमा थप छलफल अघि बढाउने दुई दलले निर्णय गरेका छन्।

हाल मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्ण यादवको नेतृत्वमा एमाले र नेपाली कम्युनिस्ट पार्टी सम्मिलित गठबन्धन सरकार छ। जसपा नेपाल भने प्रदेश सरकारमा प्रतिपक्षको भूमिकामा रहेको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com