काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो महाधिवेशनपछि बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ। बुधबार बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तार, महाधिवेशनको समीक्षा तथा पदाधिकारी मनोनयनका विषयमा निर्णय गर्ने कार्यसूची तय गरिएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार बैठकबाट केही केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन गरिए पनि केन्द्रीय समितिले तत्काल पूर्णता पाउने सम्भावना कम छ। एकता प्रक्रियामा आबद्ध सबै पक्षलाई समेटेर मनोनयन गर्न थप गृहकार्य आवश्यक रहेको उनले बताएका छन्।
रास्वपाको संशोधित विधानअनुसार १८ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। महाधिवेशनबाट सभापतिसहित सात पदाधिकारी र ९९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् भने सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ। पदाधिकारी बन्न भने पहिले केन्द्रीय सदस्य हुनुपर्ने प्रावधान रहेको छ।
पार्टी स्रोतका अनुसार एकता प्रक्रियामा रहेका समूहहरूबीच प्रतिनिधित्व मिलाउने प्रयास जारी छ। मनोनयनमा भूगोल, समावेशिता र कार्यक्षमताका आधारमा निर्णय गरिने तयारी भइरहेको बताइएको छ। बालेन्द्र शाह पक्षसँग समेत प्रतिनिधित्वको विषयमा छलफल जारी रहेको र त्यसपछि मात्रै केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरिएको छ।
उपसभापतिमा सुधन गुरुङको नाम अगाडि
मनोनयन हुन बाँकी पदमध्ये उपसभापतिका लागि गृहमन्त्री सुधन गुरुङको सम्भावना बलियो देखिएको स्रोतहरूको दाबी छ। सो पदका लागि सुनिल लम्सालको नाम पनि चर्चामा रहे पनि सभापति रवि लामिछाने गुरुङलाई जिम्मेवारी दिन सकारात्मक रहेको बताइन्छ।
पार्टीभित्र गुरुङले रवि लामिछाने र बालेन्द्र शाहबीच समन्वयकारी भूमिका खेलेको, साथै पदाधिकारीमा समावेशिताको सन्तुलन कायम गर्न सक्ने भएकाले उनको पक्षमा समर्थन बढेको स्रोतको भनाइ छ।
महामन्त्रीमा शाह र ढकालबीच प्रतिस्पर्धा
मनोनयन हुने एक महामन्त्री पदका लागि निवर्तमान महामन्त्री भूपदेव शाह र केन्द्रीय सदस्य सुदीप ढकालबीच प्रतिस्पर्धा देखिएको छ। पार्टीभित्र ढकालको सम्भावना बलियो रहेको चर्चा भए पनि अन्तिम निर्णय भने नेतृत्व तहको सहमतिपछि हुने बताइएको छ।
यदि ढकाल महामन्त्री नबने, उनलाई संगठन विभागको नेतृत्वसहित सहमहामन्त्रीको जिम्मेवारी दिने विकल्पसमेत छलफलमा रहेको स्रोतको भनाइ छ।
यस्तै, पार्टी प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो देखिएको छ भने निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले सोही पदमा दोहोरिन इच्छा नरहेको बताएका छन्। उनी राजनीतिक जिम्मेवारी पाए स्वीकार गर्ने तर कोषाध्यक्ष पदमा पुनः नबस्ने अडानमा रहेको बताइएको छ।
बुधबार बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तारको प्रारम्भिक निर्णय गरे पनि बाँकी मनोनयन प्रक्रिया भने चरणबद्ध रूपमा अघि बढाइने रास्वपाले जनाएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया