काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि काठमाडौं उपत्यकामा कम्तीमा ३ रोपनी जग्गा वा सोही बराबरको संरचना भएको घर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

पार्टीले हालको अस्थायी कार्यालयलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी मुख्यालय निर्माण वा व्यवस्थापन गर्न २१ दिने सार्वजनिक सूचना जारी गर्दै इच्छुक घर तथा जग्गाधनीसँग सिलबन्दी प्रस्ताव माग गरेको हो।

प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीको केन्द्रीय समितिले असोज १७ गते गरेको निर्णयअनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालयले प्रस्ताव आह्वान गरेको हो।

पार्टीले खरिद गर्न खोजेको जग्गा चक्रपथसँग जोडिएको वा त्यसको नजिक हुनुपर्नेछ। प्रशासनिक काम, ठूला बैठक तथा छलफल गर्न मिल्ने भवन वा भवन निर्माण गर्न सकिने खाली जग्गा हुनुपर्ने मापदण्ड तोकिएको छ। साथै पर्याप्त पार्किङ र मुख्य सडकसम्म पुग्ने कम्तीमा २० फिट चौडा पक्की बाटो अनिवार्य गरिएको छ।

प्रस्तावित सम्पत्तिको स्वामित्व स्पष्ट भएको, खरिद–बिक्रीमा कानुनी बाधा नरहेको, बैंक तथा वित्तीय संस्थामा रोक्का नभएको र कुनै विवादमा नफसेको हुनुपर्नेछ।

इच्छुकले जग्गाधनी प्रमाणपुर्जा, नागरिकता, नापी नक्सा, चारकिल्ला प्रमाणित पत्र, कर तिरेको रसिद तथा घर भए स्वीकृत नक्सा र निर्माण सम्पन्न प्रमाणपत्रलगायत कागजात पेस गर्नुपर्नेछ। प्रस्तावित मूल्यसमेत स्पष्ट खुलाउनुपर्ने पार्टीले जनाएको छ।

तोकिएको २१ दिनभित्र वनस्थलीस्थित केन्द्रीय कार्यालयमा सिलबन्दी प्रस्ताव बुझाउनुपर्नेछ। प्राप्त प्रस्तावको स्थलगत निरीक्षण र विस्तृत अध्ययनपछि पार्टीको आवश्यकता तथा उपयुक्तताका आधारमा खरिदसम्बन्धी अन्तिम निर्णय गरिनेछ।

प्रकाशित मिति: २८ आश्विन २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com