सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सीमावर्ती हलकन्डरा क्षेत्रमा यात्रुबाहक मुस्ताङ जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। मंगलबार बिहान भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दाङागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे.१ ख ५४० नम्बरको जिप उकालो सडकमा अनियन्त्रित भएर सडकमा पल्टिएको हो। दुर्घटनामा जिप चालक लेकबेशी नगरपालिका–४ का २३ वर्षीय दिपेश पुनको खुट्टामा सामान्य चोट लागेको छ।

दुर्घटनामा लेकबेशी–६ की २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, करिब ७० वर्षीया अमृता कार्की र करिब ७० वर्षीया खगिसरा बिक गम्भीर घाइते भएका छन्। उनीहरूको छाती, ढाड तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

यसैगरी दुर्घटनामा करिब ७ वर्षीय दर्शन बिक, २५ वर्षीया जुना सुनार, ३० वर्षीया उमा राना, २३ वर्षीया मिना परियार, २८ वर्षीया गीता सुनार, २७ वर्षीया दिलमाया बिक र २८ वर्षीया समीक्षा बिक घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ।

गम्भीर तथा मध्यम अवस्थाका घाइतेलाई उपचारका लागि सुर्खेतस्थित माया नर्सिङ होममा पठाइएको छ। सामान्य घाइते मिना परियार, गीता सुनार, दिलमाया बिक र समीक्षा बिकको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

जिप उकालो सडकमा आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भए पनि दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com