काठमाडौं । जेन–जी अभियानसँग आबद्ध अभियन्ताहरूले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग पाँच बुँदे माग अघि सारेका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियन्ता मिराज ढुंगाना, डा. जगत विक र सौरभ भण्डारीले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै न्याय, सुरक्षा र सामाजिक सद्भाव सुनिश्चित गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे।
उनीहरूले घटनाको स्वतन्त्र र निष्पक्ष न्यायिक छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न माग गरेका छन्। साथै संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय, पूर्वतयारी सुदृढ बनाउने तथा स्थानीय तह, प्रशासन र समुदायबीच नियमित संवादको स्थायी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
पत्रकार सम्मेलनमा सुरक्षाकर्मीबाट गोली चलाएर बल प्रयोग गरिएको घटनाबारे पनि गम्भीर छानबिन हुनुपर्ने माग गरिएको छ। यस्ता घटना भविष्यमा दोहोरिन नदिन स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारलाई आग्रह गरिएको छ।
अभियन्ताहरूले एकल व्यक्तिको अपराधलाई आधार बनाएर कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्नु सामाजिक सद्भावविरुद्ध हुने बताएका छन्। नेपाल बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले घटनालाई समुदायसँग जोडेर हेर्नुभन्दा दोषी व्यक्ति वा समूहलाई मात्रै कानुनी दायरामा ल्याउनुपर्ने उनीहरूको धारणा छ।
उनीहरूले कानुनी शासन, सामाजिक सद्भाव र आपसी सहअस्तित्वलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति सबै पक्ष संयमित हुनुपर्नेमा जोड दिएका छन्।





प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया