काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको बताएका छन्। उनले सरकार पुराना सरकारभन्दा पनि कमजोर सावित हुने हो कि भन्ने चिन्ता बढ्दै गएको टिप्पणी गरे।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै प्रचण्डले सुनसरीको कप्तानगञ्ज घटना, सुकुम्बासी व्यवस्थापन र सीमासम्बन्धी विषयलगायत पछिल्ला घटनाक्रमले सरकार सही दिशामा अघि बढ्न नसकेको संकेत गरेको बताए।

सरकार गठन हुँदा जनताले नयाँ आशा र अपेक्षा राखेको स्मरण गराउँदै उनले जिम्मेवार र परिणाममुखी निर्णयमार्फत मुलुकलाई सही दिशा दिने विश्वास गरिएको भए पनि हालसम्मका गतिविधिले त्यो भरोसा दिलाउन नसकेको बताए।

‘सरकारले नयाँ ढंगले काम गरेर जनताको विश्वास जित्छ भन्ने अपेक्षा थियो। तर पछिल्ला गतिविधि हेर्दा कतिपय अवस्थामा पुराना सरकारभन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ,’ प्रचण्डले भने।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई असफल हुने कुनै छुट नभएको उल्लेख गर्दै सरकारको असफलताले देशलाई नै गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए।

‘यो सरकार असफल हुनु भनेको एउटा सरकार मात्र असफल हुनु होइन, राष्ट्र नै ठूलो संकटमा पर्न सक्ने अवस्था सिर्जना हुनु हो। त्यसैले सरकार थप जिम्मेवार, संवेदनशील र परिणाममुखी बन्नुपर्छ,’ उनले भने।

प्रचण्डले सरकार संवाद, सहमति र सहकार्यबाट टाढिँदै गए राजनीतिक अस्थिरता र सामाजिक तनाव बढ्ने खतरा रहेको उल्लेख गर्दै सबै पक्षसँग निरन्तर संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com