जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ र धनुषास्थित विभिन्न हिन्दूवादी संघ–संस्थाका प्रतिनिधिबीच शनिबार जनकपुरधाममा पहिलो चरणको वार्ता सम्पन्न भएको छ। करिब तीन घण्टा चलेको छलफलपछि एक घण्टाका लागि स्थगित गरिएको वार्ता पुनः आजै दोस्रो चरणमा बस्ने तयारी गरिएको छ।
वार्तामा गृहमन्त्री गुरुङसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू सहभागी थिए।
पहिलो चरणको छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले हिन्दूवादी संगठनहरूले उठाएका मागहरू सरकारका लागि गम्भीर विषय भएको बताए। उनले सबै माग तत्काल सम्बोधन गर्न सम्भव नभए पनि कार्यान्वयन गर्न सकिने र जायज मागहरू प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे।
वार्तामा सहभागी विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष जानकी रमणले हिन्दू राष्ट्र पुनःस्थापनाको माग आफूहरूको प्रमुख एजेन्डा रहेको बताए। उनका अनुसार गृहमन्त्रीले उक्त विषय तत्काल निर्णय गर्ने अवस्था नरहे पनि सम्बन्धित तहमा छलफलका लागि पहल गर्ने आश्वासन दिएका छन्।
उनले अन्य मागप्रति भने सरकार सकारात्मक देखिएको दाबी गर्दै दोस्रो चरणको वार्ताबाट थप निष्कर्ष निस्कने अपेक्षा व्यक्त गरे।
दुवै पक्षबीच बाँकी विषयमा सहमति खोज्न शनिबार नै दोस्रो चरणको वार्ता बस्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार













प्रतिक्रिया