काठमाडौं । इन्डोनेसियाको समुद्री क्षेत्रमा यात्रुवाहक जहाजमा भएको भीषण आगलागीमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्। सयौँ यात्रु बोकेको जहाजमा आगलागी भएपछि समुद्रमा उद्धार अभियान तीव्र पारिएको छ।
इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार जहाजमा चालक दलसहित २७१ जना सवार थिए। जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ गइरहेका बेला मदुरा द्वीप नजिक अचानक आगलागी भएको हो।
आगलागी सुरु भएलगत्तै जहाजका कप्तानले उद्धारका लागि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। त्यसपछि नौसैनिक तथा उद्धार टोली घटनास्थलमा पुगेर यात्रुहरूको उद्धार सुरु गरेका हुन्।
सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा यात्रुहरू लाइफ ज्याकेट लगाएर लाइफबोटमार्फत ज्यान जोगाउने प्रयास गरिरहेको तथा जहाजबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किरहेको देखिएको छ।
अधिकारीहरूका अनुसार अधिकांश यात्रुको उद्धार गरिए पनि ४१ जना अझै सम्पर्कविहीन छन्। बेपत्ता यात्रुको खोजीका लागि समुद्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
इन्डोनेसियाली अधिकारीहरूले जहाजमा आगलागी हुनुको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानसमेत सुरु गरेका छन्।
प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार













प्रतिक्रिया