काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। उनले आफ्ना मागहरू सम्बोधन नभए आन्दोलनलाई अझ निर्णायक बनाइने चेतावनी दिएका छन्।

आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले वर्तमान लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएको र नागरिकका मौलिक अधिकारसमेत सङ्कुचित भएको आरोप लगाए।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ‘चार जात छत्तीस वर्णको फूलबारी’को अवधारणालाई स्मरण गर्दै उनले नेपाल सबै जाति, समुदाय र वर्गको साझा मुलुक भएको उल्लेख गरे। साथै, सरकार र सत्तारूढ पक्षले आफ्ना समर्थकमार्फत कृत्रिम सहमति र राजनीतिक प्रपञ्च सिर्जना गरिरहेको आरोप पनि लगाए।

प्रसाईंले आफ्नो आन्दोलन कुनै धर्म, जाति वा समुदायविरुद्ध नभई वर्तमान राज्य व्यवस्थाको परिवर्तनका लागि केन्द्रित रहेको स्पष्ट पारे। उनले वैदिक सनातन हिन्दु अधिराज्य तथा राजसंस्थाको पुनर्बहाली आफ्नो आन्दोलनको प्रमुख एजेन्डा रहेको दोहोर्‍याए।

उनले संविधान संशोधन, उच्चस्तरीय कार्यदल गठन र आफ्ना मागहरूको राजनीतिक सम्बोधन हुनुपर्ने बताउँदै त्यसतर्फ पहल नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए।

पत्रकार सम्मेलनमा प्रसाईंले नेपालका बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण नागरिकलाई देशको राष्ट्रिय अस्तित्व, सांस्कृतिक पहिचान र आफूले उठाएका मुद्दाका पक्षमा एकताबद्ध हुन आग्रह पनि गरे।

प्रकाशित मिति: १७ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com