काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै तयारीलाई तीव्र बनाएको छ। यसका लागि पार्टीले १६ वटा विभिन्न तयारी समिति गठन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशन व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न समिति गठन गर्नुका साथै नेता निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिमा थप सदस्य समावेश गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सुनसरीमा भएको धार्मिक तथा जातीय तनावप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाए। उनले यस्ता संवेदनशील घटनामा सरकार समयमै जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिँदै पीडितलाई उचित राहत तथा क्षतिपूर्ति र दोषीमाथि कानुनी कारबाही गर्न माग गरे।

राप्रपाले देशमा पछिल्ला दिनमा बढ्दै गएको धार्मिक तथा सामाजिक तनावको मूल कारण वर्तमान संवैधानिक व्यवस्थाको कमजोरी भएको दाबी गर्दै नेपाललाई पुनः हिन्दू राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याएको छ।

सत्ता सञ्चालनको सन्दर्भमा उठेको प्रश्नको जवाफ दिँदै लिङ्देनले पार्टी सभापतिभन्दा बाहिरको व्यक्तिले सरकारको नेतृत्व गर्दा शक्ति सन्तुलन र जिम्मेवारीमा समस्या देखिन सक्ने टिप्पणी गरे।

उनले राप्रपाले हिन्दू राष्ट्र, राष्ट्रिय पहिचान र संवैधानिक पुनर्संरचनाका मुद्दा सडक र संसद् दुवैबाट निरन्तर उठाउँदै जाने स्पष्ट पार्दै आगामी दिनमा आन्दोलनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com