काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने स्पष्ट निर्णय गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशस्तरीय सत्ता साझेदारीबाट अलग रहने नीति अनुमोदन गरेको हो।
बैठकले अहिलेको अवस्थामा प्रदेश सरकार गठन वा सत्ता समीकरणको अंकगणितमा राप्रपा संलग्न नहुने निष्कर्ष निकालेको छ। प्रदेश सरकार गठनको जिम्मेवारी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपालाई नै छाड्ने धारणा बैठकले व्यक्त गरेको छ।
यद्यपि, भविष्यमा राजनीतिक परिस्थिति परिवर्तन भई प्रदेश सरकारसम्बन्धी निर्णय आवश्यक पर्ने अवस्था आएमा पार्टीको समग्र हितलाई ध्यानमा राखेर उपयुक्त निर्णय लिन अध्यक्ष राजेन्द्र लिङ्देनलाई अधिकार प्रदान गरिएको छ। साथै, पार्टीको आधिकारिक निर्देशनबिना कुनै पनि प्रदेशसभा सदस्य वा संसदीय दललाई सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिइएको छ।
बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने राप्रपाको महाधिवेशनलाई भव्य, व्यवस्थित र सफल बनाउन विभिन्न तयारी समितिसमेत गठन गरेको छ।
महाधिवेशन तयारीअन्तर्गत अध्यक्ष लिङ्देनको संयोजकत्वमा राजनीतिक प्रतिवेदन समिति गठन गरिएको छ। त्यसैगरी उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा सभा तथा जुलुस व्यवस्थापन समिति, ध्रुवबहादुर प्रधानको संयोजकत्वमा अतिथि सत्कार समिति, हेमजङ गुरुङको नेतृत्वमा भोजन व्यवस्थापन समिति र महामन्त्री भुवन पाठकको संयोजकत्वमा समारोह व्यवस्थापन समिति गठन गरिएको छ।
त्यस्तै, महामन्त्री राजेन्द्र गुरुङको नेतृत्वमा जिल्ला समन्वय तथा सम्पर्क समिति, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक समिति, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङको नेतृत्वमा सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समिति, डा. विष्णु भण्डारीको संयोजकत्वमा बौद्धिक सम्पर्क तथा समन्वय समिति तथा प्रवक्ता मोहनकुमार श्रेष्ठको नेतृत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ।
यसैगरी, केन्द्रीय सदस्य दीपक रञ्जितको संयोजकत्वमा शान्ति–सुरक्षा तथा व्यवस्थापन समिति, इन्जिनियर सजिना कार्कीको नेतृत्वमा स्वास्थ्य समिति र ध्रुवविक्रम मल्लको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
राप्रपाले महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन आवश्यक सबै संरचना निर्माण गर्दै संगठनात्मक तयारीलाई तीव्र बनाउने निर्णय गरेको जनाएको छ।
प्रकाशित मिति: २० श्रावण २०८३, बुधबार













प्रतिक्रिया